समाचार

‘सुरक्षा चुनौतीमा उच्च अधिकारीसँग समन्वय गर्दै रबरको गोली चलाउने निर्देशन दिएको हुँ’

काठमाडौं, २५ मंसिर । जेनजी आन्दोलनका क्रममा भदौ २३ गते भएको गोलीकाण्डबारे तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै ‘उच्च पदस्थ अधिकारीहरूको समन्वयमा’ कर्फ्यू लगाइएको र बल प्रयोग गर्नुपरेको दाबी गरेका छन्।

रिजालका अनुसार संसद भवन परिसरमा पर्खाल तोडफोड, आगजनी र भीड अनियन्त्रित बनेपछि स्थिति नियन्त्रण आवश्यक थियो। उनले न्यूनतम बल प्रयोग गर्न निर्देशन दिएको दावा गरे पनि घुँडामुनि रबरको गोली हान्न आदेश दिएको स्वीकृति जनाएका छन्।

तर कसका निर्देशनमा कर्फ्यू र बल प्रयोग बढ्दै गयो भन्ने स्पष्ट खुलाएका छैनन्। उनले गोली फायर गर्ने आदेश नदिएको बताए पनि घटनास्थलमै खटिएको विशेष सुरक्षा दस्ताले ‘परिस्थितिअनुसार बल प्रयोग गरेको’ उल्लेख गरेका छन्।

सदरकम्पस क्षेत्रमा १९ जनाको ज्यान जानेगरी भएको घटनाले आफू मर्माहत भएको प्रतिक्रिया दिँदै रिजालले ‘कानून र विवेकअनुसार काम गरेको’ भन्दै कारबाही नगर्न सर्वोच्चसँग आग्रह गरेका छन्।