समाचार

नेकपा एमालेको ११ औं महाधिवेशनः सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने

२६ मंसिर, काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। भक्तपुरको सल्लाघारीमा उद्घाटन हुने महाधिवेशनमा करिब तीन लाख नेता तथा कार्यकर्ता उपस्थित हुने एमालेले जनाएको छ।

भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाका अनुसार, भक्तपुरबाट मात्र २० हजार बढी कार्यकर्ता सहभागी हुनेछन्। चौरमा १५ हजारको हाराहारीमा कुर्सी व्यवस्था गरिएको छ भने उद्घाटन प्रविधिमैत्री हुने र साँझसम्ममा मञ्च तयार हुने बताए।

महाधिवेशनको मञ्च व्यवस्थापन संयोजक बिनोद श्रेष्ठका अनुसार, उद्घाटनमा १० वटा अघिल्ला महाधिवेशनका झण्डासँगै ११ औं झण्डा राखेर झण्डोत्तोलन तथा इलेक्ट्रिक दियो बालेर कार्यक्रम सुरु गरिने योजना छ।

एमालेले सर्वसाधारणको सवारीमा समस्या नहुने गरी पार्किङ व्यवस्थापन मिलाएको छ। शनिबार ११ बजे नेता तथा कार्यकर्ताहरू सल्लाघारी पुग्नेछन् र दिउँसो ४ बजेभित्र उद्घाटन सत्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।