समाचार

सात महिनादेखि सञ्चालनविहीन नयाँ बसपार्कमा विवाद

९ पुस, काठमाडौं । धरानको धरान–८ स्थित नयाँ आधुनिक बसपार्क निर्माण भइसकेको सात महिना भए पनि हालसम्म सञ्चालनमा आएको छैन। निर्माण कम्पनी एम/एस बिकोइ गिताञ्जली जेभीले तोकिएको समयभन्दा करिब छ महिना ढिला भएसँगै बसपार्क धरान उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकेको थियो।

बसपार्क सञ्चालनमा नआएको कारण राज्यको करोडौँ रुपैयाँ लगानी र स्थानीयले नि:शुल्क दिएका जग्गा उपयोगविहीन बनेको छ। सञ्चालन तयारी भइरहेका बेला ‘सेल्स प्लट’ सम्बन्धी नयाँ विवाद उठ्दा बसपार्क कार्यपालिका र वडाध्यक्षबीच मतभेद उत्पन्न भएको छ।

धरानले तीन दशकदेखि खोज्दै आएको आधुनिक बसपार्कमा ३७ बस, २४ कार/जिप, ७२ मोटरसाइकल र ८२ अटो पार्किङको सुविधा छ। तर, अदालतमा विचाराधीन मुद्दा र स्थानीय विवादका कारण यसको सञ्चालन कहिले हुने हो भन्ने अझै स्पष्ट छैन।

बसपार्क सञ्चालनविहीन रहँदा स्थानीय र राज्यको लगानीप्रति असन्तोष बढिरहेको छ।