१० पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी रहने भएको छ। बैठक दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको हो।
१५औँ महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न कठिन देखिएपछि बुधबार बसेको बैठकमा अधिकांश सदस्यले महाधिवेशन सार्नुपर्ने धारणा राखेका थिए। संस्थापन पक्ष महाधिवेशन सार्ने रणनीतिमा देखिए पनि इतर पक्ष भने तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने अडानमा छ। कांग्रेसले पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने मिति तय गरिसकेको छ।
बुधबारको बैठकमा महाधिवेशनको कार्यतालिका व्यवहारिक बनाउनुपर्ने माग उठेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभा निर्वाचन र प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार सूचीसम्बन्धी प्रस्ताव पेस गरेका थिए।
बैठकपछि महामन्त्री गगन थापाले वडा अधिवेशन पुस १६ देखि २१ गतेसम्म सारेर तोकिएकै मितिमा महाधिवेशन गर्न सकिने प्रस्ताव गरेको बताए। उनले आवश्यक परे पालिका, जिल्ला तथा प्रदेश अधिवेशनहरू निर्वाचनपछि गर्न सकिने पनि उल्लेख गरे।
प्रस्ताव स्वीकार नभए विशेष महाधिवेशन रोक्न नसकिने चेतावनी दिँदै थापाले सभापति शेरबहादुर देउवालाई शक्ति अभ्यासको लालसा त्याग्न आग्रह गरेका छन्। मिति घोषणा मात्रै पर्याप्त नहुने भन्दै तयारीमा गम्भीर हुनुपर्ने उनको भनाइ छ।





