समाचार

नेपाली कांग्रेसका तीन वरिष्ठ नेताहरू प्रतिनिधिसभा चुनाव नलड्ने निर्णय

११ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री बद्री पाण्डे आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्।

महामन्त्री शर्मा र सहमहामन्त्री पाण्डेले यसअघि नै निर्वाचन नलड्ने सार्वजनिक घोषणा गरिसकेका छन्। महामन्त्री गगन थापाले भने पार्टीको नेतृत्व निर्वाचनअघि परिवर्तन नभए चुनावमा नजाने स्पष्ट पारेका छन्। केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उनले नेतृत्व परिवर्तनबिनै चुनावमा जान नसकिने बताएका थिए।

महामन्त्री शर्माले लगातार तीन पटक उम्मेदवार बनिसकेकाले यसपटक नयाँ नेतृत्व र पुस्तालाई अवसर दिन निर्वाचन नलड्ने निर्णय लिएको जानकारी दिएका छन्। सहमहामन्त्री पाण्डेले पनि बाजुराबाट उम्मेदवार नबन्ने घोषणा गर्दै पार्टी सुदृढीकरणमा सक्रिय रहने बताएका छन्।

युवा नेताहरूको यो निर्णयलाई कांग्रेसभित्र राजनीतिक संस्कार सुधारतर्फको सन्देशका रूपमा हेरिएको छ।