समाचार

प्रसारण लाइनको राइट अफ वेमा जग्गा अब कित्ताकाट गर्न मिल्ने

११ पुस, काठमाडौं । सरकारले अब विद्युतीय प्रसारण लाइनको राइट अफ वेमा पर्ने जग्गा कित्ताकाट गर्न मिल्ने व्यवस्था गरेको छ। भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फत यो व्यवस्था गत २७ कात्तिकमा राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको हो।

नयाँ व्यवस्थाअनुसार राइट अफ वेमा पर्ने जग्गाको स्वामित्व जग्गाधनीकै नाममा कायम रहँदै निश्चित प्रतिशत क्षतिपूर्ति दिइएपछि कित्ताकाट गर्न सकिने भएको छ। तर, प्रसारण लाइनको सुरक्षित सञ्चालन र मर्मतसम्भारका लागि घर, अग्ला रुख वा जोखिमपूर्ण संरचना निर्माण गर्न भने निषेध गरिएको छ।

यो कदमले जग्गाधनीलाई आफ्नो सम्पत्ति कानुनी रूपमा प्रयोग गर्ने सुविधा दिने र राइट अफ वेमा पर्ने जग्गाको कारोबारलाई सहज बनाउने अपेक्षा गरिएको छ।