१२ पुस, काठमाडौँ । नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील सदस्य नवीकरण गर्ने निर्णय गरेको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुशासनको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“वर्तमान विकसित राजनीतिक अवस्था, आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई मध्यनजर गरी पार्टीलाई सुसङ्गठित बनाउँदै बृहत् एकता कायम गर्दै सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको दिगो विकाससँगै संविधानको रक्षा गर्नुपर्ने राष्ट्रिय दायित्वलाई आत्मसाथ गरी आगामी दिनमा पार्टी हितविपरीत हुने गरी अनुशासन उल्लङ्घनका कुनै पनि कार्य नगर्न नगराउन सचेत गराउँदै यस्तो निर्णय गरिएको छ ।”
यस्तै, विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारकाविरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकालाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्बन र पार्टीको विधानअनुसार स्वतः कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी÷मिनाहा गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेकाहरूलाई पनि पार्टीमा फर्कनका आह्वान गरेको छ । त्यसरी फर्किने व्यक्तिलाई क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी प्रदान गर्ने बैठकले निर्णय गरेको छ ।
यसैगरी विभिन्न पेसा, व्यवसाय र विविध क्षेत्रमा रही राष्ट्र र जनताको सेवामा समर्पित लोकतान्त्रिक विचार र आस्था भएका व्यक्तिलाई कांग्रेसमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिएको छ । कांग्रेसले वर्तमान परिस्थितिमा पार्टी, लोकतन्त्र र समग्र मुलुकको हितका लागि बौद्धिक र व्यावसायिक क्षेत्र विशेष संवाद र सहकार्य गरेर अघि बढ्ने निर्णयसमेत गरेको मुख्यसचिव पौडेलले उल्लेख गरे ।
बैठकले आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फका ११० उम्मेदवार चयनको मापदण्ड तयार गरेर नाम चयन प्रक्रियासमेत अगाडि बढाएको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने जनाइएको छ ।
काँग्रेसको विज्ञप्तीः
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्यो । बैठकले समानुपातिक तर्फका ११० उम्मेदवार चयनको मापदण्ड तयार गरेर नाम चयन प्रकृया प्रारम्भ गरेको छ । आजको बैठकले देहाय बमोजिमको अन्य निर्णय गरेको छ ।
अनुशासन समितिको निर्णय सम्वन्धमा :
(१) वर्तमान विकसित राजनीतिक अवस्था र आसन्न प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनलाई मध्येनजर गर्दै पार्टीलाई सुसंगठित बनाउँदै पार्टी भित्र बृहत एकता कायम गर्दै संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको दिगो विकाससंगै संविधानको रक्षा गर्नु पर्ने राष्ट्रिय दायित्वलाई हृदयङ्गम गरी आगामी दिनमा पार्टी हित विपरित हुने गरी अनुशासन उल्लंघनका कुनै पनि कार्य नगर्न नगराउन सचेत गराउँदै देहाय बमोजिमको निर्णय गरिएको छ ।
(क) विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्वन र पार्टीको विधान अनुसार स्वतः कार्वाहीमा परेकाहरुको बाँकी अवधि माफी÷मिनाहा गर्ने निर्णय गरिएको छ ।
(ख) यसरी कार्वाही माफी÷मिनाहा भएका व्यक्तिहरुको क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय यो बैठक गर्दछ ।
(२) पार्टी परित्याग गरेकालाई घर फर्कन आह्वान
विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका साथीहरुलाई पार्टीमा फर्कनका लागि केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक हार्दिक आह्वान गर्दछ । त्यसरी फर्किने साथीहरुलाई क्रियाशील सदस्यता सहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय यो बैठक गर्दछ ।
(३) वौद्धिक र व्यवसायिक क्षेत्रलाई आह्वान
विभिन्न पेशा, व्यवसाय र विविध क्षेत्रमा रहि राष्ट्र र जनताको सेवामा समर्पित लोकतान्त्रिक विचार र आस्था भएका व्यक्तिहरुलाई नेपाली कांग्रेसमा सक्रिय भूमिका निर्वाह गर्न कार्यसम्पादन समितिको यो बैठक हार्दिक आह्वान गर्दछ । आजको परिस्थितिमा पार्टी, लोकतन्त्र र समग्र मुलुकको हितका लागि वौद्धिक र व्यवसायिक क्षेत्र विशेष संवाद र सहकार्य गरेर अघि बढ्ने निर्णय नेपाली कांग्रेस गर्दछ ।
कार्य सम्पादन समितिको बैठक २०८२ पुस १३ गते आइतबार बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।
जय नेपाल !
कृष्णप्रसाद पौडेल
मुख्य सचिव






