समाचार

दाउन्नेमा सडक खुल्यो तर जामै जाम, वैकल्पिक बाटो प्रयोग गर्न ट्राफिकको आग्रह

१६ पुस, काठमाडौं । शीतलहरका कारण प्रभावित भएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक सञ्चालनमा आए पनि सवारी जाम भएको छ।

सवारी साधनको चाप धेरै हुनु, सीमित गतिमा सवारी चलाउनुपर्नु तथा सडकको अवस्था कमजोर भएकाले जाम भएको हो। हाल पालैपालो दुवैतर्फी सवारी सञ्चालन भइरहेको छ। बतासेडाँडा, सुख्खा खोला र बाँसखोलामा सडक बिग्रिएको हुँदा सवारी पास हुन समय लागेको प्रहरीले जनाएको छ।

दाउन्ने क्षेत्रमा सडक निर्माणाधीन रहेको र शीतका कारण सडक चिप्लो हुँदा ठूला सवारी साधन सञ्चालनमा समस्या देखिएको छ। मौसममा सुधार नआएसम्म आवागमन प्रभावित हुन सक्ने भन्दै प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ।

पूर्व–पश्चिम राजमार्ग प्रयोग गर्ने सवारीका लागि नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा–बुटवल तथा कालीगण्डकी चोक (गैंडाकोट)–रामपुर–पिपलडाँडा–पाल्पा–बुटवल मार्ग वैकल्पिक रूपमा प्रयोग गर्न सकिने जनाइएको छ। काठमाडौँ–बुटवल आवतजावत गर्ने सवारीका लागि पनि यही मार्ग सिफारिस गरिएको छ।

दुई पांग्रे र 4WD चार पांग्रे सवारीका लागि दुम्कीबास–ज्यामिरे–डाँडाचोक–डमार–भुताहा सडक वैकल्पिक मार्गका रूपमा खुला रहेको छ।