२० पुस, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपलाई संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लङ्घन भएको बताएका छन्। उनले यसले सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले लेखेका छन्:
“संयुक्त राष्ट्रसंघलगायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्ने गरी कुनै एउटा देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लङ्घन हो। यस्तो कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य विषय हुन सक्दैन, हुनु पनि हुँदैन।
भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको सन्दर्भले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको छ। यसप्रकारका विषयमा स्वयं अमेरिकी समाजभित्रै गम्भीर र जिम्मेवार बहस आवश्यक देखिन्छ।”
उनका अनुसार यस्तो कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने विषय हो। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको सन्दर्भले अन्तर्राष्ट्रिय व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको भन्दै उनले यस विषयमा स्वयं अमेरिकी समाजभित्रै जिम्मेवार बहस आवश्यक रहेको बताएका छन्।





