प्रदेश 2

सर्लाहीमा हत्या गरिएका वन हेरालु महतोको टाउको फेला

२० पुस, जनकपुरधाम । सर्लाहीमा घाँटी छिनाएर हत्या गरिएका वन हेरालु रामईश्वर महतोको टाउको फेला परेको छ। यसअघि टाउकोविनाको शव भेटिएको स्थान नजिकैको झाडीबाट आज महतोको टाउको बरामद गरिएको हो।

सर्लाही प्रहरीका प्रवक्ता डीएसपी सरोज राईका अनुसार घटनास्थल आसपासको झाडीमा केही समयअघि मात्र टाउको फेला परेको हो। उनका अनुसार टाउको नभएको शव भने हिजो नै भेटिएको थियो। घटनास्थलको मुचुल्का तथा प्रारम्भिक अनुसन्धान पूरा गरेर शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ।

शनिबार ईश्वरपुर नगरपालिका–२ राईटरखोरस्थित सागरनाथ वन विकास परियोजनाको जंगलमा ज्यालादारीमा कार्यरत ४७ वर्षीय रामईश्वर महतोको टाउकोविनाको शव फेला परेको थियो। शव उनको घरदेखि करिब ५०० मिटर टाढा जंगलभित्र भेटिएको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार आज बिहान करिब ५ बजेतिर जंगलतर्फ रुख काटिएको जस्तो आवाज सुनिएपछि खोजतलासका क्रममा घटनासँग सम्बन्धित प्रमाणहरू भेटिएको थियो। घटनाको गम्भीरताका कारण धनुषाको लालगढबाट तालिमप्राप्त कुकुर झिकाएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनाको कारण र हत्यामा संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।