साहित्य

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानद्वारा देशव्यापी गीति रचना प्रतियोगिता गर्दै

२१ पुस, काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले देशव्यापी गीति रचना प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतिष्ठानको ७० औँ वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानले प्रहरी प्रशिक्षण प्रतिष्ठान गान निर्माण गर्ने उद्देश्यले देशव्यापी खुल्ला प्रतिष्ठान गान गीति रचना प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतिष्ठानले आज एक सूचना जारी गरी प्रतियोगितामा भाग लिन चाहनेले माघ १५ गतेभित्र प्रतिष्ठानको महाराजगञ्जस्थित कार्यालयमा उपस्थित भई आफ्नो रचना दर्ता गर्न वा इमेल गर्न सक्ने जनाएको छ ।

निर्णायकबाट छनोट भएको उत्कृष्ट गीति रचनालाई ५१ हजार नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरिने र दोस्रो तथा तेस्रो हुने रचनालाई प्रहरीबाट प्रकाशित हुने पत्रिकामा समावेश गर्ने सूचनामा उल्लेख छ ।

प्रतियोगितामा उत्कृष्ट भएको गीति रचनालाई सङ्गीत दिई प्रहरी प्रशिक्षण प्रतिष्ठान गानको रूपमा प्रयोग गर्ने पनि प्रतिष्ठानले जनाएको छ ।