३० पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज बिहान भेटवार्ता गरेका छन्।
संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच गठन भएका वार्ता टोलीहरूबीच सहमति हुन नसकेपछि देउवासँग प्रत्यक्ष छलफलका लागि महामन्त्रीद्वयलाई बोलाइएको हो। यसअघि दुवै पक्षबीच भएका वार्ताहरू विना निष्कर्ष टुंगिएका थिए।
देउवा निकट एक नेताका अनुसार पार्टीभित्र देखिएको विवाद समाधानका लागि सभापतिले अन्तिम प्रयासस्वरूप महामन्त्रीद्वयसँग छलफल थालेका हुन्।
उता, विशेष महाधिवेशन पक्षधरले आज भृकुटीमण्डपमा निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्। संस्थापन र विशेष महाधिवेशन पक्षबीच रातभर विभिन्न चरणमा भएका वार्ताहरू असफल भएपछि निर्वाचनमार्फत नै नेतृत्व र नीतिगत निर्णय गर्ने तयारी गरिएको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार सभापति देउवा नेतृत्व छोड्न तयार नभएपछि सहमतिको सम्भावना कमजोर बनेको र त्यसैले निर्वाचन प्रक्रियामा जाने निर्णय गरिएको हो।
विशेष महाधिवेशन प्रचार–प्रसार उपसमिति संयोजक सुवास पोखरेलले संस्थापन पक्षबाट अन्तिम क्षणसम्म वार्ताको प्रयास भइरहेको जानकारी आए पनि त्यसलाई ध्यानमा राख्दै निर्वाचन तालिका यथावत् राखिएको बताए। उनले भने, “हाम्रो निर्वाचन कार्यक्रम पूर्वनिर्धारित छ। सहमति भए सम्मान गर्छौं, नभए निर्वाचन प्रक्रियामै अगाडि बढ्छौं।”
यसअघि मंगलबार बेलुकी विशेष महाधिवेशनस्थल भृकुटीमण्डपस्थित मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा पनि विशेष महाधिवेशन पक्षधरले सहमति नजुटे निर्वाचनमार्फत नेतृत्व चयन गरिने स्पष्ट पारेका थिए।





