आर्थिक

खुकुरी प्रहार गरेर एसबीआई बैंक लुटियो, ४ जना पक्राउ, करोडौं रकम बरामद

३० पुस, काभ्रेपलाञ्चोक । नेपाल एसबीआई बैंकको घ्याङलेख–२ बस्तीपुरस्थित हायुटार शाखामा मंगलबार राति भएको लुटपाट घटनामा संलग्नमध्ये चार जनालाई प्रहरीले पक्राउ गरेको छ भने लुटिएको रकममध्ये ठूलो हिस्सा बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार स्थानीयको सहयोगमा घ्याङलेख–१ सुकाचुरी क्षेत्रबाट चार जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पाँच–छ जनाको समूहले मंगलबार राति करिब ८ः४० बजेतिर बैंकमा लुटपाट गरेका थिए। लुटेराहरूले बैंकका सुरक्षागार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिई खुकुरी प्रहार गरी घाइते बनाएका थिए भने अन्य कर्मचारीलाई पनि नियन्त्रणमा लिएर बैंकबाट तीन करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेर फरार भएका थिए।

लुटपाटपछि भाग्ने क्रममा स्थानीयको होहल्ला भएपछि लुटेराहरूले केही रकम बोकेको बोरा बाटोमै छाडेका थिए। साथै, घटनास्थल वरपर दुईदेखि तीन किलोमिटरको क्षेत्रभित्र खोजतलास गर्दा थप रकम फेला परेको प्रहरीले जनाएको छ। हालसम्म एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ बरामद भइसकेको छ।

घटनामा प्रयोग गरिएको काभ्रेको बनेपाबाट रिजर्भ गरिएको बा.डी. ०३९८ नम्बरको टाटा सुमो जीप र चालक भवत सिंह थापालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। चालक थापाका अनुसार ‘केटी भगाउनुपर्ने’ भन्दै सुमो रिजर्भ गरिएको थियो।

प्रहरीले फरार लुटेराहरूको खोजी तथा घटनासम्बन्धी थप अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।