समाचार

लेखनाथले अस्वीकार गरे बाबुरामको प्रस्ताव

९ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा गोरखा–२ का उम्मेदवार डा. बाबुराम भट्टराईले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेसँग चुनावी तालमेलको प्रस्ताव गरेका छन् । तर न्यौपानेले आफू धेरै अगाडि बढिसकेको भन्दै प्रस्ताव अस्वीकार गरेका छन् ।

काठमाडौंमा पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर सहयोग मागेका बाबुरामले लेखनाथको उम्मेदवारी फिर्ता गराउन आग्रह गरेका थिए । तर प्रचारमा सक्रिय लेखनाथले पछि नहट्ने स्पष्ट पारेका छन् ।

‘अब म फर्किँदैनँ, पार्टी र समर्थकको भरोसालाई धोका दिन सक्दिनँ,’ उनले भने ।

गोरखा–२ मा बाबुराम र लेखनाथबीच यसअघि छलफल भए पनि सहमति जुट्न सकेन । आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन रहेकाले यो क्षेत्रमा प्रतिस्पर्धा थप रोचक बनेको छ ।