समाचार

बारामा धारिलो हतियार प्रहार गरी आमा–छोराको हत्या, तीनजना घाइते

१४ माघ, जनकपुरधाम । बारामा एक व्यक्तिले घरभित्र पसेर धारिलो हतियार प्रहार गर्दा आमा–छोराको मृत्यु भएको छ भने बुवासहित तीनजना घाइते भएका छन्।

बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा ३२ वर्षीय रामेश्वर मण्डल र उनकी ५२ वर्षीया आमा सुमित्री देवीको घटनास्थलमै मृत्यु भएको हो। सोही घटनामा बुवा जगरुक मण्डल गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरका अनुसार आज बिहान करिब ३ बजेतिर एकजना व्यक्ति घरभित्र प्रवेश गरी अन्धाधुन्ध रूपमा धारिलो हतियार प्रहार गरेको प्रारम्भिक जानकारी आएको छ। आक्रमणबाट घरमा रहेका अन्य दुई जना पनि घाइते भएका छन्।

घाइते तीन जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिएको एसपी कुँवरले बताए।

प्रहरीले घटनाको कारण र संलग्न व्यक्तिको खोजीका लागि थप अनुसन्धान अघि बढाएको छ।