१४ माघ, रुकुमपूर्व । बागलुङ र पूर्वी रुकुमको सीमावर्ती क्षेत्रमा भएको भारी हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। भूमे गाउँपालिका–१ पातीहाल्ने क्षेत्रमा करिब दुई फिटसम्म हिउँ जम्दा यातायात सेवा ठप्प भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार हिमपातसँगै निरन्तर वर्षा भइरहेको छ। प्रतिकूल मौसमका कारण त्यस क्षेत्रमा सञ्चार सेवा समेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।
सडक बन्द भएपछि काठमाडौंबाट रुकुमपूर्व हुँदै रुकुमपश्चिम र डोल्पातर्फ गएका यात्रुबाहक बस तथा अन्य सवारीसाधनहरू बीच बाटोमै रोकिएका छन्। चिसो र हिमपातका कारण सडकमा अलपत्र परेका यात्रुहरू समस्यामा परेका छन्।
रुकुमपूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारले सडक खुलाउन भूमे गाउँपालिकाको केन्द्रबाट जेसिबी (डोजर) पठाइएको जानकारी दिइन्। उनका अनुसार निरन्तर वर्षा भइरहेकाले तत्काल काम सुरु गर्न कठिन भएको छ। वर्षा रोकिने बित्तिकै हिउँ पन्छाएर यातायात सुचारु गरिने उनले बताइन्।
उच्च हिमाली क्षेत्र भएकाले उक्त सडकखण्डमा हरेक वर्ष हिमपातका कारण यातायात अवरुद्ध हुने गरेको छ। यसपटक बाक्लो हिमपात र फोन नेटवर्क अवरुद्ध हुँदा उद्धार तथा समन्वयमा समेत समस्या देखिएको सुरक्षा निकायले जनाएको छ।





