२४ माघ, काठमाडौं । अमेरिका र भारतले अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा गरेका छन् । दुवै देशले संयुक्त वक्तव्य जारी गर्दै सम्झौतामा सहमति भएको जानकारी सार्वजनिक गरेका हुन् ।
यसअघि २ फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौतामा सहमति भएको घोषणा गर्दै भारतविरुद्ध लागू गरिएको ५० प्रतिशत आयात शुल्क घटाएर १८ प्रतिशतमा झार्ने बताएका थिए । तर, त्यतिबेला सम्झौतासम्बन्धी विस्तृत विवरण सार्वजनिक गरिएको थिएन ।
हाल संयुक्त वक्तव्य सार्वजनिक भएपछि सम्झौताका मुख्य बुँदाहरू खुलासा भएका छन् । भारतका वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा यो सम्झौताले भारतीय निर्यातकर्ताका लागि करिब ३० ट्रिलियन अमेरिकी डलर (झन्डै ४३३ खर्बभन्दा बढी नेपाली रुपैयाँ) बराबरको बजार खुल्ने बताएका छन् ।
उता ह्वाइट हाउसले जारी गरेको कार्यकारी आदेशमा राष्ट्रपति ट्रम्पले भारतले रुसी महासंघबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तेल आयात नगर्ने प्रतिबद्धता जनाएको उल्लेख गरेका छन् । साथै भारतले अमेरिकाबाट ऊर्जा उत्पादन खरिद गर्ने तथा आगामी १० वर्षमा रक्षा सहकार्य विस्तार गर्न सहमत भएको पनि ह्वाइट हाउसको वक्तव्यमा जनाइएको छ ।
सम्झौताअनुसार अमेरिकाले भारतबाट आयात हुने वस्तुहरूमा लगाइने ‘रेसिप्रोकल ट्यारिफ’ घटाउने निर्णय गरेको छ । यस कटौतीपछि भारतीय उत्पादनमा लागू हुने ट्यारिफ दर १८ प्रतिशत कायम रहनेछ ।
ह्वाइट हाउसका अनुसार अन्तरिम व्यापार सम्झौताका लागि आवश्यक फ्रेमवर्क तयार भइसकेको छ र केही सर्तहरू समेत निर्धारण गरिएका छन् । यस सम्झौताले दुवै देशबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
– बीबीसी हिन्दीबाट





