२५ माघ, काठमाडौं । मुग्लिङ–काठमाडौं सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ दसकिलोमा दुईवटा बस आपसमा ठोक्किँदा यात्रु घाइते भएका छन् ।
दाङबाट काठमाडौं आउँदै गरेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२०६ नम्बरको रिजर्भ बस आज बिहान करिब साढे ७ बजे एकआपसमा ठोक्किएका हुन् ।
दुर्घटनापछि एउटा बस सडकछेउमा रहेको टिनले छाएको कच्ची पसलमा समेत ठोक्किँदा पसलमा क्षति पुगेको छ । पसलमा रहेका व्यक्ति तथा बसमा सवार केही यात्रु घाइते भएका छन् ।
घाइतेहरूको उद्धार गरी धादिङको थाक्रे पोलिक्लिनिक तथा काठमाडौंका विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । घाइतेहरूको अवस्था र संख्या भने आउन बाँकी छ ।
दुर्घटनामा संलग्न प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस चालक दाङको तुलसिपुर उपमहानगरपालिका–६ का २४ वर्षीय सन्तोष नेपालीलाई इलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





