काठमाडौं । जापानको प्रधानमन्त्री निर्वाचनमा सानाए ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले अत्यधिक बहुमत हासिल गरेको छ। आइतबार सम्पन्न निर्वाचनमा एलडीपीले संसदको शक्तिशाली तल्लो सदनमा सबैभन्दा धेरै सिट जित्दै स्पष्ट विजय हासिल गरेको हो।
सरकारी प्रसारक एनएचकेका अनुसार ४६५ सदस्यीय तल्लो सदनमा एलडीपीले ३१६ सिट जितेको छ, जुन साधारण बहुमतका लागि आवश्यक २३३ सिटभन्दा ८३ सिट बढी हो।
निर्वाचन परिणाम सार्वजनिक भएपछि पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री ताकाइचीले जिम्मेवार र सक्रिय वित्तीय नीतिलाई निरन्तरता दिने बताइन्। “हामी वित्तीय नीतिको दिगोपनलाई प्राथमिकता दिँदै आवश्यक लगानी सुनिश्चित गर्नेछौं,” उनले भनिन्।
‘आइरन लेडी’ ताकाइची
पूर्व बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरप्रति खुला प्रशंसा गर्ने सानाए ताकाइची जापानको दक्षिणपन्थी धारमा पर्ने नेतृका रूपमा चिनिन्छिन्। लैङ्गिक समानतामा रूढिवादी दृष्टिकोण र कडा आप्रवासन नीतिका कारण उनी विवादित तर प्रभावशाली नेतृ मानिन्छिन्।
पूर्व प्रधानमन्त्री शिन्जो आबेकी निकट सहयोगी रहेकी ६४ वर्षीया ताकाइची यसअघि विभिन्न मन्त्री पद सम्हालिसकेकी छन्। उनी पछिल्ला पाँच वर्षमा जापानको चौथी प्रधानमन्त्री बनेकी हुन्। अघिल्ला प्रधानमन्त्रीहरू लोकप्रियता घट्नु र काण्डमा मुछिनुका कारण पद छोड्न बाध्य भएका थिए।
राजनीतिमा आउनुअघि उनी केही समय टेलिभिजन प्रस्तोताको रूपमा पनि सक्रिय थिइन्। हेभी मेटल संगीतप्रतिको रुचिका कारण उनी एक ब्याण्डमा समेत आबद्ध थिइन्। जोसिलो प्रस्तुतीका क्रममा ड्रमस्टिक भाँचिने भएकाले सधैं अतिरिक्त ड्रमस्टिक बोकेर हिँड्ने व्यक्तिका रूपमा उनी चर्चित छिन्।
महँगी नियन्त्रणको वाचा, ऋणको चिन्ता
व्यक्तिगत रूपमा लोकप्रिय भए पनि पछिल्ला वर्षहरूमा सत्तारूढ एलडीपी चन्दा र धार्मिक काण्डका कारण दबाबमा थियो। तर निर्वाचनमा पार्टीले बढ्दो महँगीबाट जनतालाई जोगाउन खाद्यान्नमा लाग्ने आठ प्रतिशत बिक्री कर निलम्बन गर्ने प्रतिबद्धता अघि सारेको थियो।
तर विकसित अर्थतन्त्रहरूमध्ये सबैभन्दा ठूलो ऋण बोकेको जापानले यस्तो योजना कसरी वित्तपोषण गर्छ भन्ने प्रश्न उठिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
ट्रम्पको समर्थन, चीन असहज
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत ताकाइचीलाई बधाई दिँदै ‘पूर्ण समर्थन’ रहने बताएका छन्। ताकाइचीले पनि ट्रम्पप्रति धन्यवाद व्यक्त गरेकी छन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि उनको ‘ठूलो जित’ को प्रशंसा गरेका छन्।
तर जापानको निर्वाचन परिणामले चीनलाई भने असहज बनाएको कूटनीतिक क्षेत्रका जानकारहरू बताउँछन्। एसिया ग्रुपका प्रमुख डेभिड बोलिङका अनुसार बेइजिङले ताकाइचीको जितलाई स्वागत गर्ने छैन। “अब चीनले उनलाई मजबुत रूपमा सत्तामा रहेको वास्तविकता स्वीकार्नुपर्ने अवस्था आएको छ,” उनले बताएका छन्।
प्रधानमन्त्री बनेको केही सातामै ताइवानमाथि चीनले आक्रमण गरे जापानले कसरी प्रतिक्रिया जनाउन सक्छ भन्ने विषय सार्वजनिक रूपमा उठाएपछि दुवै देशबीच पछिल्लो एक दशककै ठूलो कूटनीतिक तनाव उत्पन्न भएको थियो।
‘एलडीपीले चाहेको कानुन बनाउन सक्छ’
होसेई विश्वविद्यालयका प्राध्यापक क्रेग मार्कका अनुसार तल्लो सदनमा स्पष्ट बहुमत पाएसँगै ताकाइची नेतृत्वको एलडीपी अब विपक्षीको दबाबबिनै निर्णय गर्न सक्ने अवस्थामा पुगेको छ।
“रेकर्ड बजेटदेखि रक्षा खर्चसम्म, उनी चाहेको कुनै पनि कानुन अघि बढाउन सक्छिन्,” मार्कले अल जजिरालाई भनेका छन्।
उनका अनुसार यो ताकाइचीका लागि जापानको शान्तिवादी छवि परिवर्तन गर्ने ठूलो अवसर पनि हो। दोस्रो विश्वयुद्धपछि बनेको संविधानले जापानी सेनालाई आत्मरक्षात्मक भूमिकामा सीमित गर्दै आएको छ।
जापानको प्रमुख व्यावसायिक महासंघ केइदानरेनका अध्यक्षले निर्वाचन परिणामले देशमा राजनीतिक स्थिरता फर्काएको भन्दै स्वागत गरेका छन्।





