खेलकुद

टी–२० विश्वकप: दोस्रो खेलमा नेपालले इटलीसँग खेल्दै

माघ २९, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले आज इटलीसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘सी’ अन्तर्गतको यो खेल दिउँसो ३:१५ बजे मुम्बईस्थित वाङ्खेडे स्टेडियममा सुरु हुनेछ।

दुवै टोली पहिलो खेलमा पराजित भएपछि आजको खेल उनीहरूका लागि निकै महत्वपूर्ण बनेको छ। नेपाल आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित भएको थियो भने इटली स्कटल्यान्डसँग हार बेहोरेको थियो। त्यसैले आज दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन्।

नेपाल र इटलीबीच १३ वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो। सन् २०१३ मा आईसीसी डिभिजन ३ अन्तर्गत ५० ओभरको खेलमा यी दुई टोलीबीच भेट भएको थियो। तर टी-२० अन्तर्राष्ट्रियमा भने यो पहिलो पटकको सामना हुनेछ।

नेपाल विश्वकपमा १२ वर्षपछि जितको खोजीमा पनि छ। सन् २०१४ मा अफगानिस्तानलाई हराएयता नेपालले विश्वकपमा कुनै खेल जित्न सकेको छैन।

समूह ‘सी’ को अंकतालिकामा वेस्ट इन्डिज दुई खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ। इंग्ल्यान्ड र स्कटल्यान्डले समान २ खेलबाट २–२ अंक जोडेका छन्। आजको खेलले समूहको समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।