स्वास्थ्य

वीर अस्पतालमा स्वास्थ्य बीमा कटौती, दीर्घरोगीलाई एक महिनाको औषधि मात्र

१ फागुन, काठमाडौं । वीर अस्पतालले स्वास्थ्य बीमाबाट उपलब्ध गराउँदै आएको सेवा कटौती गरेको छ। यसअन्तर्गत दीर्घरोगी बिरामीलाई बीमार्फत तीन महिनासम्म उपलब्ध हुँदै आएको औषधि अब एकपटकमा एक महिनाका लागि मात्रै दिइने भएको छ। अस्पतालले यो व्यवस्था १ फागुनदेखि लागू हुने जनाएको छ।

अस्पतालले जारी गरेको सूचनामा अर्को व्यवस्था नभएसम्म बिमित सदस्यलाई एक महिनाका लागि मात्रै औषधि उपलब्ध गराइने उल्लेख गरिएको छ।

अस्पतालका निर्देशक डा. दिलीप शर्माका अनुसार लामो समयदेखि स्वास्थ्य बीमा बोर्डबाट भुक्तानी नआएकाले सेवा कटौती गर्नुपरेको हो। बीमा कार्यक्रमअन्तर्गत अस्पतालले ४० करोड रुपैयाँभन्दा बढी रकम पाउन बाँकी रहेको उनले बताए।

“वीर अस्पताल गरिब तथा विपन्न वर्गका लागि मुख्य आधार हो। सबै सेवा बन्द गर्दा बिरामी प्रत्यक्ष मारमा पर्छन्, त्यसैले अहिले आर्थिक दायित्व कम गर्न केही सेवा मात्र कटौती गरिएको हो,” डा. शर्माले भने। उनका अनुसार अस्पतालले सबैभन्दा ठूलो समस्या औषधि खरिदमा भोगिरहेको छ।

सरकारबाट समयमै भुक्तानी नहुँदा औषधि खरिद तथा उपकरण मर्मतसम्भारमा समेत कठिनाइ आएको अस्पतालको भनाइ छ। “सेवा निरन्तरता दिन नै मुस्किल भइरहेको अवस्था छ,” उनले थपे।

स्वास्थ्य बीमा कार्यक्रम अहिले गम्भीर आर्थिक संकटमा परेको देखिन्छ। लामो समयदेखि उपचार खर्चको भुक्तानी नपाएपछि विभिन्न ठूला अस्पतालहरूले स्वास्थ्य बीमा सेवा निश्चित समयसीमा तोकेर बन्द गर्न थालेका छन्।

बीमा बोर्डका अनुसार सूचीकृत स्वास्थ्य संस्थालाई असार मसान्तसम्मको ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी छ। यस्तो अवस्थाले बिमित नागरिक सेवा बाट वञ्चित हुने जोखिम बढ्नुका साथै समग्र स्वास्थ्य बीमा कार्यक्रम नै संकटमा पर्ने चिन्ता बढेको छ।