अन्तर्राष्ट्रिय

युरोपमा ‘अमेरिकी आणविक छहारी’ बदल्ने बहस भएको छैनः नेटो प्रमुख

२ फागुन, म्युनिख । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का प्रमुख मार्क रुटले शनिबार युरोपमा कसैले पनि अमेरिकाको आणविक छहारीलाई बदल्न दबाब नदिएको बताएका छन्।

“मलाई लाग्छ कि युरोपमा हुने हरेक छलफलले सामूहिक रूपमा आणविक प्रतिरोध अझ बलियो छ भन्ने सुनिश्चित गर्दछ र यो ठीक छ, तर युरोपमा कसैले पनि अमेरिकाको परमाणु छहारीको प्रतिस्थापनको बहस गरिरहेका छैनन्,” नेटोका महासचिव रूटले म्युनिख सुरक्षा सम्मेलनका क्रममा समाचार सम्प्रेषणका लाथि त्यहाँ पुगेका पत्रकारहरूसँगको कुराकानीमा भने ।

उनले भने, “सबैले अमेरिका अन्तिम संरक्षक भएको महसुस गर्दै आएका छन् र यी सबै अन्य छलफलहरू थप सुरक्षाका लागि हो ।”

जर्मन चान्सलर फ्रेडरिक मर्जले शुक्रबार पश्चिमी नेताहरूको भेलामा आफूले फ्रान्सका राष्ट्रपतिसँग युरोपेली आणविक प्रतिरोधका बारेमा गोप्य वार्ता गरेको बताएपछि अमेरिकी अधिकारीको चासौलाई सम्बोधन गर्दै रूटले भने ।

युरोपको अर्को आणविक शक्ति बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले भने, “यसले ‘फ्रान्ससँग हाम्रो परमाणु सहयोग बढाइरहेको छ’।”

रुसबाट उत्पन्न खतरा र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी सुरक्षा प्रतिबद्धताको विश्वसनीयतालाई लिएर आशङ्का बढेपछि महाद्वीपमा आणविक हतियार बलियो बनाउने कि यथास्थितिमा अघि बढ्ने भन्ने बिषयमा बहस चलेको छ ।

ट्रम्प प्रशासनका अधिकारीहरूले युरोपका सहयोगीहरूलाई उनीहरूको परम्परागत प्रतिरक्षाको जिम्मेवारी लिन भनेका छन्, तर अमेरिकाले आफ्नो परमाणु सुरक्षा प्रदान गर्ने कुरालाई जारी राख्ने बताएका छन्।