६ फागुन, काठमाडौं । टर्कीको इस्तानबुलबाट काठमाडौं आउँदै गरेको टर्किस एयरलाइन्सको जहाज अवतरणको क्रममा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा नउतरी ओभरसुट गर्दै बंगलादेशको ढाका डाइभर्ट गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार टर्किस एयरलाइन्सको उक्त जहाज अवतरणको तयारीमै रहँदा प्राविधिक समस्या देखिएको थियो। समस्या देखिएलगत्तै चालकदलले काठमाडौंमा अवतरण नगरी ढाका लैजाने निर्णय गरेको विमानस्थल स्रोतले जनाएको छ।
विमानस्थलका अनुसार समस्या विमानस्थलसँग सम्बन्धित नभई जहाजकै प्राविधिक कारणले उत्पन्न भएको हो। चालकदलको निर्णयपछि जहाज ढाकामा सुरक्षित रूपमा अवतरण गरिसकेको छ।
उक्त वाइडबडी जहाज बुधबार बिहान ११ बजेर १० मिनेटमा काठमाडौं अवतरण गर्ने तालिका थियो भने अनुमानित आगमन समय १० बजेर ५६ मिनेट थियो।
यसअघि पनि २१ माघमा टर्किस एयरलाइन्सकै अर्को जहाज काठमाडौंबाट उडेको केही मिनेटमै दायाँ इन्जिनमा आगलागी भएपछि चालकदलले केही समय आकाशमै होल्ड गरी भारतको कोलकाता डाइभर्ट गरेको थियो।
त्यसैगरी, थाइल्यान्डको बैंककबाट आएको थाई एयरवेजको जहाज भने काठमाडौंमा तीव्र हावा चलेका कारण केही समय आकाशमै होल्ड गर्नुपरेको थियो। हाल उक्त जहाज सुरक्षित रूपमा अवतरण गरिसकेको विमानस्थलले जनाएको छ।





