५ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनगढीबाट आफ्नो चुनावी अभियान औपचारिक रूपमा सुरु गरेको छ। ‘परिवर्तन उद्घोष सभा’ नाम दिइएको कार्यक्रममार्फत सुदूरपश्चिममा चुनावी सरगर्मी बढाएको पार्टीले जनाएको छ।
धनगढीबाट सुरु भएको रास्वपाको चुनावी सभा क्रमशः सुर्खेत, भैरहवा, पोखरा, चितवन र इटहरीमा आयोजना हुने पार्टीले जानकारी दिएको छ। बुधबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्न रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह धनगढी पुगेका छन्।
कार्यक्रममा सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रका प्रत्यक्ष उम्मेदवार सहभागी भएका छन्। सुदूरपश्चिम प्रदेशका महामन्त्री सन्तोष जोशीका अनुसार प्रत्यक्ष र समानुपातिकतर्फका सबै उम्मेदवार कार्यक्रममा उपस्थित छन्। साथै नेतृ रिमा विश्वकर्मा, ज्वाला संग्रौला लगायतका नेताहरूको पनि सहभागिता रहेको छ।
यही क्रममा रास्वपाका सभापति लामिछानेले कञ्चनपुर–२ मा पार्टीले ‘क्लीन स्वीप’ गर्ने दाबी गरेका छन्। बुधबार कञ्चनपुर–२ मा आयोजित चुनावी कार्यक्रममा आफ्ना उम्मेदवार दीपक बोहराका पक्षमा मत माग्दै उनले जनलहर स्पष्ट रूपमा रास्वपाको पक्षमा देखिएको बताए।
‘मैले यहीँबाट रालो खसेको देखेको थिएँ, त्यो क्लीन स्वीपको संकेत हो,’ लामिछानेले भने। उनले २१ फागुन विशेष महत्वको दिन भएको उल्लेख गर्दै यसअघि आफ्ना २१ जना सांसदलाई संसदबाट जबर्जस्ती हटाइएको आरोप दोहोर्याए। त्यसको जवाफ जनताले २१ फागुनको मतदानमार्फत दिने विश्वास उनले व्यक्त गरे।
रास्वपाले कञ्चनपुर–२ मा उत्साहजनक जनसमर्थन पाएको दाबी गर्दै चुनावी माहोल आफ्नो पक्षमा मजबुत बन्दै गएको जनाएको छ।





