१० फागुन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहट ले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेशलाई आज पनि निरन्तरता दिएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले अर्को सूचना जारी नभएसम्म कर्फ्यु कायम रहने जनाएका छन्।
प्रशासनले अत्यावश्यक कामका लागि बिहान ६:३० बजेदेखि ८:३० बजेसम्म दुई घण्टा कर्फ्यु खुकुलो बनाएको छ। त्यसपछि भने पुनः पूर्ण रूपमा कर्फ्यु लागू हुने सूचनामा उल्लेख गरिएको छ। शनिबार दिउँसो १ बजेदेखि लागू गरिएको कर्फ्यु आइतबार बिहान ६:३० बजेसम्म निरन्तर जारी रहने र सोही अनुसार बिहान दुई घण्टा सहुलियत दिइएको प्रशासनले स्पष्ट पारेको छ।
विवाद शनिबार बिहान गौर नगरपालिका–६ सनगडा गाउँ मा मुस्लिम समुदाय प्रार्थनामा रहेको समयमा हिन्दू समुदायले बाजा बजाएको विषयमा सुरु भएको थियो। सामान्य भनाभन चाँडै झडपमा परिणत हुँदै अन्य वडामा समेत फैलिएको थियो। स्थिति नियन्त्रणका लागि प्रहरीले हवाई फायर र अश्रुग्यास प्रयोग गर्नुपरेको थियो।
झडपका क्रममा प्रदर्शनकारीले ६ वटा मोटरसाइकल र २ वटा जिपमा आगजनी गरेका थिए। त्यसपछि प्रशासनले सेना परिचालन गर्दै शनिबार दिउँसोदेखि कर्फ्यु लागू गरेको थियो।
हाल कर्फ्यु लागू गरिएको क्षेत्रको सीमा पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बसपार्क क्षेत्र र दक्षिणमा गौर भन्सार कार्यालयसम्म तोकिएको छ। प्रशासनले सर्वसाधारणलाई शान्ति कायम गर्न सहयोग गर्न आग्रह गर्दै कर्फ्यु उल्लंघन गरे कानुनी कारबाही गरिने चेतावनी दिएको छ।





