१५ फागुन, काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै निर्वाचन आयोगले उम्मेदवारका एकाघरका परिवारसम्मको बैंक खाता निगरानीमा राखेको छ। चुनावी खर्च पूर्ण रूपमा बैंकिङ प्रणालीमार्फत गर्न निर्देशन दिँदा पनि धेरै उम्मेदवारले नगद तथा गैर–बैंकिङ माध्यम प्रयोग गरेको पाइएपछि आयोगले निगरानी कडाइ गरेको हो।
निर्वाचन खर्च पारदर्शी बनाउन आयोगले आचारसंहितामै छुट्टै बैंक खाता खोली त्यसमार्फत मात्रै खर्च गर्नुपर्ने व्यवस्था गरेको थियो। तर उक्त प्रावधानको पालना नभएको देखिएपछि प्रचार–प्रसार अवधिभर उम्मेदवारसहित परिवारका सदस्यहरूको बैंक कारोबारसमेत अनुगमन थालिएको जनाइएको छ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक आयुक्त सगुन शमशेर जबराले बैंक खातामार्फत खर्च नगर्ने उम्मेदवारमाथि प्रचलित कानूनअनुसार कारबाही हुन सक्ने स्पष्ट पारे। उनले जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत उम्मेदवारको वित्तीय गतिविधि अनुगमन भइरहेको जानकारी दिए।
आयोगले राष्ट्र बैंकलाई समेत पत्राचार गरी आवश्यक सहकार्य गरिरहेको जनाएको छ। यदि उम्मेदवारले छुट्टै खाता नखोली पुरानै खाता प्रयोग गरेको पाइएमा त्यसलाई आचारसंहिता उल्लंघन मानिने र आवश्यक परे ब्ल्याकलिस्टमा राखेर कारबाहीसमेत गरिने आयोगको चेतावनी छ।
आयुक्त जबराले सबै राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिता पूर्ण रूपमा पालना गरी स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्न आग्रह गरेका छन्।





