१७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सामाजिक सञ्जालमा देखिने कोलाहल र हल्लालाई अस्वाभाविक नमान्ने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जाल प्रायः घृणाको भाषा बोल्नेहरूको पक्षमा हुने टिप्पणी गरे।
‘बाहिर कोलाहल छ, सामाजिक सञ्जालमा ठूलो हल्ला छ। त्यो हल्लालाई म अस्वाभाविक मान्दिन,’ थापाले भने, ‘संसारभरि सामाजिक सञ्जाल कसको पक्षमा हुन्छ ? जसले घृणाको भाषा बोल्छ। म यहाँ उभिएर एक मिनेट कसैलाई गाली गरेँ भने बेलुका म भाइरल हुन्छु।’
आफूले भने मिलाउने र संयमित भाषा प्रयोग गरिरहेको उल्लेख गर्दै उनले यस्तो शैली प्रायः “नबिक्ने” गरेको बताए। ‘आज मैले बोलिरहेको भाषा मिडियाका साथीहरूलाई पनि मन नपर्न सक्छ, किनकि म सफ्ट बोलिरहेको छु, मिलाउने कुरा गरिरहेको छु। यो बिक्दैन,’ उनले भने, ‘तर देश बिकाउने कुराले मात्रै चल्दैन, देश यस्तै नबिक्ने कुराले चल्छ।’
थापाले पार्टीका कार्यकर्ताहरूलाई थप मिहिनेतका साथ अघि बढ्न आग्रह गर्दै बाँकी दिनमा अझ सक्रिय भएर काम गर्न निर्देशन दिए। ‘थकाइ नमान्नुहोस्, अब बाँकी दिनमा पनि यसैगरी काम गर्न सकिन्छ,’ उनले भने।





