समाचार

ओखलढुंगामा मतदान शान्तिपूर्ण, अफवाह झूट

ओखलढुङ्गा । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले भ्रामक सूचना फैलिएको भन्दै सचेत गराएको छ। आज मिति २०८२/११/२१ को प्रेस विज्ञप्तिमा प्रहरी नायब उपरीक्षक मदन के.सी.का अनुसार, “सुशासन संचार” नामक फेसबुक पेजबाट ओखलढुंगामा मतदान बिथोल्ने प्रयास भएको, गोली लागेर एक जना घाइते भएको भन्ने समाचार पूर्णरूपमा भ्रामक रहेको पुष्टि गरिएको छ।

प्रहरीका अनुसार, हालसम्म जिल्लामा मतदान कार्यक्रम शान्तिपूर्ण वातावरणमा जारी छ। साथै, गलत सूचना फैलाउने व्यक्तिको पहिचान र खोजतलास गरी कानुन बमोजिम आवश्यक कारबाही गरिने जानकारी दिइएको छ।

प्रहरीले मतदाता र आमजनतालाई अफवाहमा नपर्ने र आधिकारिक स्रोतबाटै जानकारी लिन आग्रह गरेको छ।