समाचार

कष्टसाध्य यात्रा पार गर्दै मतदान गर्न पुगिन् वृद्धा

लोकतन्त्रप्रति गहिरो आस्था देखाउँदै एक वृद्ध महिला अत्यन्त कष्टसाध्य अवस्थामा पनि मतदान गर्न मतदान केन्द्रसम्म पुगेकी छन्। उभिएर सहज रूपमा हिँडडुल गर्न नसक्ने ती महिला छोटो दूरी पार गर्नका लागि हात र घुँडाको सहारा लिँदै अगाडि बढ्नुपर्थ्यो। उकालो–ओरालो र ढुंगामाटोयुक्त बाटो पार गर्दै उनले कति लामो दूरी यसरी नै घिस्रिँदै पार गरिन् भन्ने अनुमान गर्न पनि कठिन छ।

तर ती सबै कठिनाइलाई पार गर्दै उनी अन्ततः रोल्पाको थवाङस्थित तत्कालीन गाविस भवनमा रहेको मतदान केन्द्रमा पुगिन्। त्यहाँ पुगेर उनले घिस्रिँदै मतपत्र लिइन् र आफ्नो मताधिकार प्रयोग गरिन्। थोत्रो लुंगी लगाएकी र बर्को ओढेकी उनको यो भावुक दृश्य कसैले भिडियोमा कैद गरेर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि व्यापक चर्चा भएको छ।

भिडियोसँगै लेखिएको क्याप्सनमा भनिएको छ, “निकै कहालीलाग्दो दृश्य छ यहाँ। उहाँहरूको अमूल्य मतको दुरुपयोग गर्न कसैलाई छुट छैन।”

यो भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले ती वृद्ध मतदाताप्रति सहानुभूति व्यक्त गरेका छन्। केहीले नेताहरूलाई जनताको दुःख बुझ्न आग्रह गर्दै आलोचना गरेका छन्। एक प्रयोगकर्ताले लेखेका छन्, “पाप लाग्छ नेताहरूलाई, जितेर पनि जनताको मर्मअनुसार काम नगरे।”

अर्की प्रयोगकर्ताले टिप्पणी गर्दै लेखेकी छिन्, “विचरी आमा, यस्तो अवस्थामा पनि नेताहरूलाई जिताउन यति दुःख गरेर मतदान गर्नुभएको छ।”

कतिपयले मतदान केन्द्रमा आधारभूत सुविधाको अभाव भएको भन्दै प्रश्न उठाएका छन्। एक प्रयोगकर्ताले भनेका छन्, “आमाका लागि ह्वीलचेयरको व्यवस्था गर्नुपर्ने थियो। सबै हाँसेर बसिरहेका छन्। हाम्रो देश र समाज कता गइरहेको छ?”

धेरैले ती वृद्धाको मतको सम्मान गर्न नेताहरूलाई सचेत गराउँदै विजयी हुने प्रतिनिधिले जनताको समस्याप्रति संवेदनशील हुनुपर्ने बताएका छन्। साथै, भविष्यमा यस्ता नागरिकलाई सहज बनाउन डिजिटल मतदान प्रणाली लागू गर्नुपर्ने सुझाव पनि सामाजिक सञ्जालमा आएका छन्।

स्रोत: गोवीन सहयात्रीको फेसबुक