समाचार

अनुकूल नतिजा नदेखिएपछि विश्वप्रकाशको प्रतिक्रिया– मतदाताको फैसला स्वीकार्य

काठमाडौं, २२ फागुन । प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसअनुकूल परिणाम नदेखिएपछि पार्टीका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको निर्णयलाई सम्मान गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै उनले मतदाताको फैसला स्वीकार्य भएको उल्लेख गरेका हुन्। हालको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न क्षेत्रमा अग्रता लिइरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

शर्माले विगतमा ‘बुलेट’ बाट उदाएको नेकपा माओवादी केन्द्रलाई स्वागत गरिएको प्रसंग स्मरण गर्दै अहिले ‘ब्यालेट’ बाट उदाउँदै गरेको रास्वपालाई पनि स्वागत गर्नुपर्ने बताएका छन्।

उनका अनुसार २०७९ को प्रतिनिधि सभा निर्वाचनमै रास्वपाले पाएको समर्थनलाई हेर्दा अहिले देखिएको मतपरिणाम पूर्ण रूपमा अप्रत्याशित भने होइन।

साथै उनले जनतामा जागेको आशा फेरि निराशामा परिवर्तन हुन नदिन सबै दल जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरेका छन्। देशका प्रमुख मुद्दाहरूमा सहयोग र आवश्यक खबरदारी दुवै जारी रहने उनले बताएका छन्।