काठमाडौं, २२ फागुन । मतदानका क्रममा स्याङ्जा, धनुषा र दोलखा जिल्लामा देखिएको विवाद अझै समाधान हुन सकेको छैन। विवाद भएका क्षेत्रका निर्वाचन अधिकृतहरू हाल निर्वाचन आयोग नेपालको निर्णयको प्रतीक्षामा रहेका छन्।
आयोगका उच्च स्रोतका अनुसार उक्त विवादबारे छलफल गर्न केहीबेरमै आयोगको बैठक बस्ने तयारी गरिएको छ। बैठकपछि तत्काल निर्णय सार्वजनिक गर्ने बताइएको छ।
दोलखाको मालु क्षेत्रमा मतदानका क्रममा विवाद उत्पन्न भएपछि केही समयका लागि मतदान स्थगित गरिएको थियो। पछि माइकिङ गरेर मतदातालाई पुनः मतदानका लागि बोलाइएको थियो। सो क्षेत्रमा राजनीतिक दलहरूले पनि विवादबारे आयोगले स्पष्ट र उचित निर्णय दिनुपर्ने माग गरेका छन्।
दोलखा क्षेत्रमा विभिन्न दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट जगदीश खरेल, नेपाली कांग्रेसबाट अजयबाबु शिवाकोटी, नेकपा एमालेबाट पार्वत गुरुङ उम्मेदवार रहेका छन्।
यसैगरी नेपाल कम्युनिस्ट पार्टीबाट विशाल खड्का र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवीणकुमार थोकर तामाङलगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
विवाद समाधानबारे आयोगको निर्णयपछि मात्र सम्बन्धित क्षेत्रको अवस्था स्पष्ट हुने बताइएको छ।





