काठमाडौं, २२ फागुन । प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीको जित निश्चित भएको छ। उनले ३ हजार ३०७ मत प्राप्त गर्दै स्पष्ट अग्रता बनाएका छन्।
मतगणना अनुसार नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १ हजार ८ सय ६ मत पाएका छन् भने रास्वपाका उम्मेदवार अधितीय चन्द्र थकालीले ७ सय ५९ मत प्राप्त गरेका छन्। यसैगरी, राप्रपाका कमला लालचनले १६१ मत र नेकपाका ङुटुक गुरुङले १५१ मत पाएका छन्।
योगेश गौचन थकाली यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि निर्वाचित भएका थिए।
मुस्ताङमा कुल मतदाता ११ हजार ३२८ रहेकोमा ६ हजार ३८८ मत खसेको थियो र १०७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अहिले मतगणना सम्पन्न भए पनि आधिकारिक घोषणा अझै बाँकी छ।





