२५ फागुन, काठमाडौं । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा सत्ता गठबन्धनलाई हराउँदै मकवानपुर–१ बाट विजयी भएका दीपकबहादुर सिंहको यसपटक भने धरौटी नै जफत भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सिंहले २०७९ को प्रतिनिधि सभा निर्वाचनमा तात्तकालीन नेकपा (माओवादी), एकीकृत समाजवादीलगायतका दलको गठबन्धनमा साझा उम्मेदवार बनेकी कांग्रेसकी महालक्ष्मी उपाध्यय डीनालाई पराजित गरेका थिए।
विजयी भएका उनले २७ हजार ८१६ मत प्राप्त गर्दै विजयी हुँदा कांग्रेसकी डीनाले २५ हजार ४३४ मत प्राप्त गरेकी थिइन्। सिंहले डीनालाई २ हजार ३८२ मतान्तरले पराजित गरेर पहिलो पटक संसदीय यात्रा तय गरेका थिए। बिहीबार सम्पन्न निर्वाचनमा पनि दुवैजना प्रतिस्पर्धामा थिए।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश गौतम विजयी हुँदा डीनाले १४ हजार मत प्राप्त गरेर दोस्रो भइन्। तर गत निर्वाचनमा आफू निर्वाचित भएर डीनालाई दोस्रो बनाएका राप्रपाका सिंहको भने यो पटक धरौटी पनि जोगिएन।
यस क्षेत्रमा प्रत्यक्षतर्फ खसेको कुल ९५ हजार ३१० मतमा राप्रपाका सिंहले ४ हजार ५७४ मत मात्रै प्राप्त गरेका हुन्। प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारले कुल सदर मतको कम्तीमा १० प्रतिशत मत ल्याउनुपर्छ। त्यसो गर्न नसके धरौटी जफत हुन्छ।
यस क्षेत्रमा खसेको ९५ हजार ३१० मतमा ४ हजार ५८५ मत बदर हुँदा ९० हजार ७२५ मत सदर भएको थियो। यो आधारमा जमानत जोगाउन कम्तीमा ९ हजार ७३ मत ल्याउनुपर्ने हुन्छ। तर, सिंहले ५ हजार पनि कटाउन सकेनन्।





