समाचार

प्रतिनिधिसभा निर्वाचन: प्रत्यक्षतर्फको नतिजा सार्वजनिक, समानुपातिक मतगणना अन्तिम चरणमा

२६ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका सबै १६५ सिटको नतिजा सार्वजनिक भएको छ भने समानुपातिक मतगणना पनि लगभग अन्तिम चरणमा पुगेको छ।

निर्वाचन आयोगका अनुसार मंगलबार बिहान ९ बजेसम्म एक करोड ६ लाख ३० हजार १४८ मत गणना भएको थियो। यसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाख ९२ हजार ५७२ मत प्राप्त गर्दै पहिलो स्थानमा रह्यो।

दोस्रो स्थानमा नेपाली कांग्रेस (१७ लाख २८ हजार ३९१ मत) र तेस्रोमा नेकपा एमाले (१४ लाख ३८ हजार ४९३ मत) रहेका छन्। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ८९ हजार ९०८ मत प्राप्त गरेको छ।

समानुपातिक तर्फ हर्कराज राई(साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टीले ३ लाख ७२ हजार ४२९ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ लाख २८ हजार ३७ मत प्राप्त गरेको छ। अन्य दलहरूले थ्रेसहोल्ड कटाउने सम्भावना न्यून देखिन्छ।

निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले भने, “समानुपातिक मतगणना जिल्ला निर्वाचन कार्यालय र केन्द्रबाट टिपिएको तथ्यांकमा आधारित छ, केही भिन्नता हुन सक्छ।”

सूचना अधिकारी सुमन घिमिरेका अनुसार, गोरखा–१, गोरखा–२, धनुषा–१, इलाम–१, संखुवासभा र बर्दिया–२ क्षेत्रमा दिउँसो पाँच बजेसम्म गणना जारी थियो। उनले बताए अनुसार, “हिजो अबेर मात्र प्रत्यक्षतर्फको गणना सकिएको क्षेत्र आजै सकिनसक्दैन। अन्य क्षेत्रमा भने गणना सकिनेछ।”

समानुपातिक मतगणना सकिएपछि आयोग दलहरूलाई सिट बाँडफाँट र समावेशीताको आधारमा सांसद पठाउने तयारीमा लाग्नेछ।