समाचार

निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीको बिदाइ

२८ फागुन, काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षामा खटिएका अस्थायी निर्वाचन प्रहरीहरूलाई आज औपचारिक रूपमा बिदाइ गरिएको छ। ४० कार्यदिनका लागि भर्ना गरिएका उनीहरूको सेवा अवधि आज समाप्त भएको हो।

नेपाल प्रहरी का केन्द्रीय प्रवक्ता अवि नारायण काफ्ले का अनुसार निर्वाचन प्रहरीहरूले प्रभावकारी रूपमा जिम्मेवारी निभाएकै कारण निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सम्भव भएको हो। बिदाइ कार्यक्रममा उनीहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो। साथै देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने प्रतिबद्धतासहित सम्मानपूर्वक विदाई गरिएको जनाइएको छ।

यस वर्ष निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी मातहत १ लाख ३३ हजार ९ सय ८० जना र सशस्त्र प्रहरी बल नेपाल मातहत १५ हजार १ सय १० जना गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो।

सशस्त्र प्रहरी बल नेपाल का प्रवक्ता विष्णु प्रसाद भट्ट ले सशस्त्र प्रहरी मातहत खटिएका निर्वाचन प्रहरीहरूको पनि आजै बिदाइ कार्यक्रम राखिएको जानकारी दिए।

निर्वाचन प्रहरीहरूले पाउनुपर्ने पारिश्रमिक तथा सेवासुविधा सम्बन्धी रकम भने उनीहरूको बैंक खातामा पठाइसकिएको छ। उनीहरूले ३४ हजार रुपैयाँ तलबका साथै जिल्ला दररेट अनुसारको रासन भत्ता, यातायात भत्ता, खाजा खर्च तथा पोसाक भत्ताअनुसार एकसरो कपडाको खर्च समेत प्राप्त गरेका छन्।