अन्तर्राष्ट्रिय

पोर्चुगलमा नेपाली ड्राइभिङ लाइसेन्सलाई मान्यता दिलाउने पहल

३० फागुन, लिस्वन (पोर्चुगल) । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाली सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लाई पोर्चुगलमा पनि मान्यता दिलाउन औपचारिक पहल थालेको छ। यस विषयमा नेपाली दूतावासका प्रतिनिधि र पोर्चुगल सरकारको यातायात निकायबीच प्रारम्भिक छलफल भएको छ।

बिहीबार लिस्बनमा रहेको पोर्चुगलको यातायात संस्थान (आईएमटी) कार्यालयमा भएको भेटवार्तामा नेपाली दूतावासका नियोग उपप्रमुख शत्रुध्वन पोखरेल र प्रथम सचिव रामबाबु नेपाल सहभागी थिए भने पोर्चुगलतर्फबाट सवारी चालक अनुमतिपत्र विभागकी प्रमुख सुसाना पाउलिनो सहभागी थिइन्।

भेटमा नेपाली ड्राइभिङ लाइसेन्स भएका नागरिकलाई पोर्चुगलको लाइसेन्स प्राप्त गर्न सहजीकरण गर्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ। नेपाली लाइसेन्सका आधारमा पोर्चुगलको ड्राइभिङ लाइसेन्स ‘कन्भर्ट’ गर्न सकिने कानुनी आधार र व्यवहारिक प्रक्रियाबारे पनि कुराकानी भएको बताइएको छ।

दूतावासका अनुसार नेपालमा स्मार्ट लाइसेन्स प्रयोगमा रहेको जानकारी पोर्चुगलको यातायात विभागलाई दिइएको छ। विभाग प्रमुख पाउलिनोले नेपालमा स्मार्ट लाइसेन्स प्रचलनमा रहेको भए प्रक्रिया अझ सहज हुन सक्ने प्रतिक्रिया दिएकी थिइन्।

दूतावासले पोर्चुगलको लाइसेन्स पनि नेपालमा मान्य हुने र आवश्यक परे ‘कन्भर्ट’ गर्न सकिने व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याएको छ। विभागले आवश्यक कानुनी संशोधन र अन्य तयारीबारे जानकारी इमेलमार्फत पठाउने बताएको दूतावासका नियोग उपप्रमुख पोखरेलले जानकारी दिए।

उनका अनुसार यो प्रक्रिया तुरुन्तै कार्यान्वयनमा जाने सम्भावना भने छैन, तर सकारात्मक परिणाम आउने अपेक्षा गरिएको छ।

हाल पोर्चुगलले भारतको ड्राइभिङ लाइसेन्सलाई भने ‘कन्भर्ट’ गर्दै आएको छ। दुई वर्षअघिसम्म नेपाली लाइसेन्स पनि कन्भर्ट हुने गरे पनि पछिल्ला वर्षहरूमा त्यो प्रक्रिया बन्द भएको छ, जसका कारण यहाँ रहेका नेपाली समुदायले समस्या भोग्दै आएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएन) पोर्चुगलका अध्यक्ष बमबहादुर जिसीका अनुसार पहिले नेपाली लाइसेन्स भएकाले लिखित परीक्षा दिनुपर्दैनथ्यो र प्रयोगात्मक परीक्षा पास गरेपछि पोर्चुगलको लाइसेन्स प्राप्त गर्न सकिन्थ्यो।

पोर्चुगलले सन् १९६८ को सडक यातायातसम्बन्धी भियना महासन्धिमा हस्ताक्षर गरेको भए पनि नेपाल उक्त सन्धिमा सहभागी छैन। यही कारणले नेपाली ड्राइभिङ लाइसेन्सलाई यहाँ सिधै मान्यता नदिइएको हो।

विदेशी लाइसेन्स ‘कन्भर्ट’ गर्न पछिल्लो १५ वर्षभित्र जारी भएको लाइसेन्स, वैध राहदानी, पोर्चुगलमा बसोबासको प्रमाण, कर पहिचान नम्बर, इलेक्ट्रोनिक स्वास्थ्य प्रमाणपत्र र प्रहरी रिपोर्ट आवश्यक पर्ने व्यवस्था छ। साथै पोर्चुगिज भाषा बाहेकका कागजात अनुवाद गरी आधिकारिक निकायबाट प्रमाणित गराउनुपर्ने हुन्छ।

यदि नेपाली लाइसेन्सलाई पोर्चुगलमा मान्यता दिइयो भने नेपाली नागरिकलाई सवारी चलाउन सहज हुने र उबर, बोल्टजस्ता राइड–सेयरिङ सेवामा काम गर्ने अवसर समेत खुल्ने अपेक्षा गरिएको छ। साथै ड्राइभिङ स्कुलमा लामो समय अध्ययन गरेर लाइसेन्स लिनुपर्ने झन्झट र करिब १५ सय युरोसम्म लाग्ने खर्चबाट पनि नेपालीहरू बच्न सक्ने बताइएको छ।