समाचार

पहिलो दिनमै राजनीतिक पावर शो, शीर्ष नेताको सम्बोधन तय

१८ चैत, काठमाडौं ।  प्रतिनिधिसभाको पहिलो बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। मंगलबार बसेको सर्वदलीय बैठकमा ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन हुने पहिलो बैठकको कार्यसूचीबारे विस्तृत छलफल गरिएको हो।

बैठकपछि जानकारी दिँदै रास्वपा सांसद कबिन्द्र बुर्लाकोटी ले पहिलो बैठकमा दलका शीर्ष नेताहरूले शुभकामना दिने र मन्तव्य राख्ने सहमति भएको बताए। उनका अनुसार सम्बोधनका लागि समय निर्धारण गरेर कार्यक्रम अघि बढाइनेछ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुन ले पनि पहिलो अधिवेशनको उद्घाटन सत्रमा विभिन्न दलका नेताहरूले आफ्नो धारणा राख्ने जानकारी दिए।

यद्यपि, कार्यव्यवस्था समितिमा प्रतिनिधित्वको संख्याबारे भने थप छलफल आवश्यक रहेको बताइएको छ। रास्वपाको संख्या तुलनात्मक रूपमा ठूलो रहेकाले अन्य दलका प्रतिनिधिलाई पनि समेट्ने विषयमा आन्तरिक परामर्श जारी रहने जनाइएको छ।

पहिलो बैठकसँगै प्रतिनिधिसभामा राजनीतिक गतिविधि औपचारिक रूपमा सुरु हुने र दलहरूको प्राथमिकता तथा धारणा सार्वजनिक हुने अपेक्षा गरिएको छ।