१८ चैत, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा भोलि (१९ चैत) देखि देशभर सञ्चालन हुँदैछ।
यस वर्ष १ हजार ९६६ परीक्षा केन्द्रबाट परीक्षा लिइनेछ, जसमा एक केन्द्र जापानमा पनि रहेको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार सबै ७७ जिल्लाबाट तयारी पूरा भएको जानकारी आएको छ र प्रश्नपत्र तथा उत्तरपुस्तिका केन्द्रहरूमा पुगिसकेका छन्।
यसपटक एसईईमा कुल ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी हुँदैछन्। जसमा २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य छन्। जापानस्थित एभरेस्ट स्कुलबाट पनि २३ विद्यार्थीले परीक्षा दिँदैछन्। पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ।
बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गरिनेछ। यसपटक उत्तरपुस्तिका परीक्षण पनि सम्बन्धित परीक्षा केन्द्रमै गर्ने व्यवस्था गरिएको छ, जसले नतिजा छिटो प्रकाशन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले पनि विद्यार्थीलाई लामो समय तनावमा नराख्न छिटो नतिजा सार्वजनिक गर्न निर्देशन दिएका छन्।





