समाचार

एमालेको स्पष्टिकरण: संसदीय दलको नेता निर्वाचनमा पार्टीको कुनै हस्तक्षेप भएन

२० चैत, काठमाडौं । नेकपा एमालेले चैत १८ गते सम्पन्न संसदीय दलको नेता निर्वाचनमा पार्टीको कुनै निर्देशन, नियन्त्रण वा हस्तक्षेप नभएको स्पष्ट पारेको छ। शुक्रबार बसेको पार्टीको सचिवालय बैठकले यसबारे सार्वजनिक टिप्पणी नगर्न पनि पार्टी पंक्तिलाई आह्वान गरेको छ।

पार्टीका उपमहासचिव लेखराज भट्ट का अनुसार, निर्वाचन समितिले निर्धारित प्रक्रिया अनुसार निर्वाचन सम्पन्न गरेको र पार्टीका उपाध्यक्ष तथा माननीय रामबहादुर थापालाई निर्विरोध निर्वाचित घोषणा गरिएको हो। उनले बैठकले निर्वाचनमा पार्टीका तर्फबाट कुनै प्रकारको हस्तक्षेप नभएको कुरा प्रष्ट पारेको बताए।

भट्टले थपे, “संसदीय दल नेताको निर्वाचनका सन्दर्भमा सार्वजनिक सञ्चारमाध्यममा आएका प्रतिक्रियाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। दल नेताको निर्वाचन दलको विधान बमोजिम लोकतान्त्रिक विधिबाट सम्पन्न भएको हो।”

पार्टीले यस विषयमा सार्वजनिक रुपमा टिप्पणी नगर्न आफ्ना पंक्तिलाई अनुरोध गरेको छ भने, विशेष गरी युवा पंक्तिबाट प्राप्त सुझावलाई गम्भीरतापूर्वक लिएको पनि जानकारी दिएको छ।