२३ चैत, पोखरा । नव वर्ष २०८३ को अवसर पारेर लिटिल स्टेप सेकेन्डरी स्कुलद्वारा आयोजना गरिएको शुभकामना आदान-प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयको ग्राण्ड हलमा आयोजित उक्त कार्यक्रममा ३०० भन्दा बढी विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त कार्यक्रम संस्थापक अध्यक्ष शेर बहादुर गुरुङको अध्यक्षतामा तथा संस्थापक प्रिन्सिपल पाम्फा गुरुङको विशेष उपस्थितिमा सम्पन्न भएको थियो।
कार्यक्रममा उपस्थित सहभागीहरूले उनिहरुको विद्यालयप्रति गरेको योगदान, समर्पण र दीर्घकालीन दृष्टिको उच्च प्रशंसा गरेका थिए। विद्यालय निर्माण र विकासमा उनिहरूले पुर्याएको योगदानलाई सबैले प्रेरणादायी विरासतका रूपमा स्मरण गरेका थिए।
कार्यक्रममा पोखरा भ्याली नगर विकास समितिका पूर्व अध्यक्ष दुर्गा प्रसाद तिमिल्सिना र प्रगतिआमा समूहकी अध्यक्ष कुलमाया पौडेलले विद्यालयको नयाँ व्यवस्थापन टोलीको आगमनले विद्यालयको शैक्षिक स्तर उच्च बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागीहरूबीच नव वर्षको शुभकामना आदान–प्रदान, आपसी भेटघाट तथा सौहार्दपूर्ण संवाद सम्पन्न भएको थियो। सोही अवसरमा विद्यालयको नयाँ व्यवस्थापन टोलीले आगामी शैक्षिक योजना, नवीन सोच, आधुनिक शैक्षिक दृष्टिकोण तथा संस्थागत विकासका भावी नीतिहरू प्रस्तुत गरेको थियो, जसले सहभागीहरूमा उत्साह र सकारात्मक अपेक्षा सिर्जना गरेको देखिएको थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा सञ्चालन गरिएको निःशुल्क सामान्य स्वास्थ्य परीक्षण (General Health Check-Up) मा २०० भन्दा बढी सहभागीहरूले स्वास्थ्य जाँच गराएका थिए। यस पहलमार्फत सहभागीहरूले आफ्नो स्वास्थ्य अवस्थाबारे प्रारम्भिक जानकारी प्राप्त गरेका थिए, जसलाई समुदायले अत्यन्त उपयोगी र सराहनीय कदमका रूपमा लिएको छ।
कार्यक्रमप्रति प्रतिक्रिया दिँदै अभिभावक तथा सरोकारवालाहरूले विद्यालयप्रति गहिरो सन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले विद्यालयले केवल शैक्षिक नतिजामात्र नभई समुदायसँगको सम्बन्ध, सामाजिक उत्तरदायित्व र छिमेकीसँगको आत्मीयता निर्माणमा पनि विशेष ध्यान दिएको उल्लेख गरेका छन्।
विद्यालयले निर्माण गरेको सामुदायिक सम्बन्ध, विश्वास र सहकार्यको वातावरणलाई उनीहरूले अत्यन्त सकारात्मक र उदाहरणीय अभ्यासका रूपमा प्रशंसा गरेका छन्।
कार्यक्रमकै क्रममा विद्यालयले आगामी चैत २५ गते महिलाहरूका लागि पाठेघर सम्बन्धी स्क्रीनिङसहितको विशेष स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिने घोषणा गरेको छ। साथै, चैत २७ गते आयोजना हुने नतिजा प्रकाशन कार्यक्रममा दन्त स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध गराइने जानकारी दिइएको छ।
विद्यालय व्यवस्थापन समितिका अनुसार, यस्ता कार्यक्रमहरूले विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने मात्र नभई विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। आगामी दिनमा पनि यस्ता शैक्षिक, सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिइने जानकारी दिइएको छ।
यस कार्यक्रमले शिक्षा, स्वास्थ्य र सामुदायिक सहकार्यलाई एकै थलोमा समेट्दै लिटल स्टेप सेकेन्डरी स्कूललाई एक सक्रिय, जिम्मेवार र दूरदर्शी शैक्षिक संस्थाका रूपमा थप स्थापित गरेको छ।





