२९ चैत, काठमाडौं । देशभर सहकारी क्षेत्रमा देखिएको संकट झनै गहिरिँदै गएको छ। बचतकर्ताको रकम फिर्ता नदिने, संस्थाको विवरण अपारदर्शी राख्ने र सञ्चालक नै फरार हुने प्रवृत्तिले समस्या जटिल बन्दै गएको छ। यसैको एउटा उदाहरण काठमाडौं महानगरपालिका–७ मा रहेको एभरट्रस्ट बचत तथा ऋण सहकारी संस्था बनेको छ।
यस सहकारीमा करिब ६ सय ५० जना बचतकर्ताले आफ्नो रकम फिर्ता नपाएको भन्दै उजुरी दिएका छन्। हालसम्म करिब २१ करोड ९२ लाख रुपैयाँ बराबरको माग दाबी परेको सहकारी प्राधिकरणले जनाएको छ। तर संस्थाको वास्तविक बचत, कर्जा लगानी र दायित्वसम्बन्धी पूर्ण विवरण भने अझै अस्पष्ट छ।
झन् पीडादायी पक्ष के भने, यस सहकारीमा दृष्टिविहीन व्यक्तिहरूले सडकमा गीत गाएर र सहयोग संकलन गरेर जम्मा गरेको करिब ७० लाख रुपैयाँसमेत फसेको छ। उनीहरूको जीविकोपार्जनकै आधार बनेको रकम जोखिममा परेपछि अवस्था थप संवेदनशील बनेको छ।
पीडितमध्ये एक सन्तोष पन्तले छोरीको वैदेशिक अध्ययनका लागि बैंकबाट लिएको करिब ४० लाख रुपैयाँ अस्थायी रूपमा सहकारीमा राख्दा फसेको बताए। “साथीभाइको संस्था भनेर विश्वास गरेर पैसा राखें, अहिले सबै गुम्ने अवस्थामा पुगेको छ,” उनले भने।
२०७८ सालतिरै समस्यामा परेको उक्त सहकारीले त्यसपछि पनि नियमित कारोबार जारी राखेको थियो। आरोप अनुसार सञ्चालकहरूले कर्जा असुली बढाउँदै बचतकर्तालाई पैसा नफर्काई रकम आफैंले हडपेका थिए। पछि केही सञ्चालक पक्राउ परे पनि अदालतबाट धरौटीमा छुटेपछि उनीहरू सम्पत्ति बेचेर फरार भएका छन्।
संस्थाका अध्यक्ष दीपक थापा मगर हालसम्म फरार रहेको बताइएको छ भने अन्य पदाधिकारीहरू पनि सम्पर्कविहीन छन्। कोषाध्यक्ष भने थुनामा रहेका छन्।
प्राधिकरणका अनुसार सहकारीमा करिब ४० करोड रुपैयाँ बराबरको अपचलन भएको आशंका छ। संस्थामा पारिवारिक नातागोता भित्रैका व्यक्तिहरूको नियन्त्रण रहेको र नियमनको अभावले समस्या बढेको बताइएको छ।
सहकारी क्षेत्रको यस्तो अवस्थाले सर्वसाधारणको विश्वास गुम्दै गएको छ। बचतकर्ताहरू वर्षौंदेखि सरकारसँग गुहार माग्दै आएका छन्, तर ठोस समाधान नआउँदा उनीहरू निराश बनेका छन्।
विशेषज्ञहरूका अनुसार सहकारी क्षेत्रको सुधारका लागि कडा नियमन, पारदर्शिता र जिम्मेवार व्यवस्थापन अनिवार्य छ। अन्यथा यस्ता घटनाले समग्र अर्थतन्त्रमा समेत नकारात्मक असर पार्ने चेतावनी दिइएको छ।





