समाचार

रास्वपाको सचिवालय बैठक भोलि, यस्ता छन् एजेन्डा-

वैशाख ५, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालयको बैठक भोलि (वैशाख ६ गते) बस्ने भएको छ। पार्टी सभापति रवि लामिछानेले बैठक बोलाएको जानकारी पार्टी प्रवक्तामार्फत दिइएको छ।

बैठक दिउँसो ३:३० बजे काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय, घन्टीघरमा बस्ने तय भएको छ।

बैठकमा विभिन्न संगठनात्मक तथा नीतिगत विषयमा छलफल हुने जनाइएको छ। प्रस्तावित कार्यसूचीअनुसार जिल्ला अधिवेशन कार्यविधि २०८३, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् गठन, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयन लगायतका विषयमा निर्णय गरिनेछ।

त्यस्तै, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, विज्ञ तथा परियोजना प्रस्ताव आह्वान सम्बन्धी विषय पनि एजेन्डामा समावेश छन्।

विविध शीर्षकअन्तर्गत प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समिति बैठकको तयारी, तथा संसदीय दलका लागि प्राविधिक सहयोग र लेवी सम्बन्धी विषयमा पनि छलफल हुने बताइएको छ।

रास्वपाले बैठकमार्फत पार्टीको संगठन सुदृढीकरण र आगामी कार्यक्रमहरूलाई व्यवस्थित बनाउने लक्ष्य लिएको जनाएको छ।