१० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको मुद्दा संशोधनसम्बन्धी निर्णयविरुद्ध दायर रिट निवेदनको सुनुवाइ बिहीबार स्थगित गरिएको छ।
महान्यायाधिवक्ता कार्यालयले पेश गरेको निवेदनका आधारमा सर्वोच्च अदालतले तय गरिएको सुनुवाइ स्थगित गरेको हो। यसअघि मुद्दा न्यायाधीशहरू नृपध्वज निरौला, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासमा पेश हुने तालिका थियो।
मुद्दा संशोधनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन वटा छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका छन्। प्रारम्भिक सुनुवाइका क्रममा संयुक्त इजलासका दुई न्यायाधीशहरूले यस विषयमा गम्भीर कानुनी प्रश्न उठेको ठहर गर्दै मुद्दालाई तीन सदस्यीय पूर्ण इजलासमा पेश गर्न आदेश दिएका थिए।
सर्वोच्च अदालतले सोही आदेशअनुसार पहिलो पटक बिहीबारका लागि सुनुवाइको मिति तोकेको थियो। तर, महान्यायाधिवक्ता कार्यालयको अनुरोधपछि उक्त सुनुवाइ स्थगित गरिएको हो।
अब यो मुद्दा पूर्ण इजलासमा कहिले सुनुवाइ हुने भन्ने नयाँ मिति सर्वोच्च अदालतले तोक्नेछ।





