१० वैशाख, काठमाडौं । नेपाली सेयर बजारमा गिरावटको श्रृंखला रोकिएको छैन। साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज परिसूचक १७.०१ अंकले घट्दै २७८७ अंकमा झरेको छ। यससँगै बजार चार कारोबार दिनदेखि लगातार ओरालो लागिरहेको छ।
अघिल्लो दिन २८०४ अंकमा रहेको बजार आज २८ सयको मनोवैज्ञानिक विन्दुबाट तल झरेको हो। कारोबार रकममा समेत उल्लेख्य गिरावट आएको छ। बुधबार ७ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार घटेर ५ अर्ब ९ करोडमा सीमित भयो।
आजको बजारमा ४६ कम्पनीको शेयर मूल्य बढ्दा २१६ कम्पनीको मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रह्यो। क्षेत्रगत रूपमा उत्पादन तथा प्रशोधन समूह ०.६० प्रतिशत र व्यापार समूह ०.४३ प्रतिशतले बढे पनि अन्य अधिकांश समूहहरू ओरालो लागे। होटल तथा पर्यटन समूह सबैभन्दा बढी १.४२ प्रतिशतले घट्दा बैंकिङ, हाइड्रोपावर, फाइनान्स, बीमा लगायतका समूहहरू पनि दबाबमा देखिए।
यद्यपि केही कम्पनीमा सकारात्मक संकेत देखिएको छ। पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावरको शेयर मूल्य १५ प्रतिशतले बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंकले पनि क्रमशः ९.२४ र ५ प्रतिशतको वृद्धि दर्ज गरे।
त्यसैगरी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकको शेयर मूल्य सबैभन्दा धेरै ११.७९ प्रतिशतले घटेको छ। सुपर खुदी हाइड्रोपावर, गणपति लघुवित्त र रिजलाइन इनर्जीका लगानीकर्ताले पनि उल्लेख्य नोक्सानी व्यहोरे।
कारोबारका हिसाबले रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी, होटल फरेस्ट इन र नेसनल हाइड्रोपावर अग्रस्थानमा रहे।
समग्रमा, बजारमा लगानीकर्ताको आत्मविश्वास कमजोर देखिँदा सेयर बजारमा दबाब कायम रहेको विश्लेषकहरू बताउँछन्।





