समाचार

संसद छलेर अध्यादेशको बाटो रोज्नु लोकतन्त्रको उपहास : प्रदीप पौडेल

११ बैशाख, काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद प्रदीप पौडेलले संसद अधिवेशनको आकस्मिक अन्त्य र अध्यादेशमार्फत शासन चलाउने सरकारको प्रवृत्तिप्रति कडा आपत्ति जनाउनुभएको छ।

आह्वान भएको २४ घण्टा नबित्दै संसद अधिवेशन स्थगन गरिनुले सरकारको नियतमाथि गम्भीर प्रश्न उब्जाएको उहाँको तर्क छ।

नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, सहज संसदीय अंकगणित र अनुकूल राजनीतिक परिस्थिति हुँदाहुँदै पनि सरकारको राजनीतिक आत्मविश्वास किन यति कमजोर ? बलियो बहुमत प्राप्त सरकारले नीति निर्माणका विषयमा संसदलाई विश्वासमा लिएर पारदर्शी रूपमा अघि बढ्नु पर्नेमा अध्यादेशको बाटो रोज्नु लोकतन्त्रको उपहास हो।

उहाँले लोकतन्त्रमा विधि र प्रक्रियाको पारदर्शितालाई उच्च महत्त्व दिइनुपर्नेमा जोड दिँदै प्रक्रिया छलेर परिणाम खोज्नु पद्धति र मर्यादा दुवैको अवमूल्यन भएको टिप्पणी गर्नुभयो।

जननिर्वाचित संस्थाको गरिमा उच्च राख्न र गरिमामय संसदलाई पूर्ण विश्वासमा लिएर पारदर्शी रूपमा अघि बढ्न म सरकारसँग जोडदार माग गर्दछु, पौडेलले भन्नुभयो ।

संसदलाई बन्दी बनाएर वा छलेर गरिने कुनै पनि निर्णयले मुलुकमा सुशासन र विधिको शासन स्थापित गर्न नसक्ने उहाँको ठहर छ।

नेता पौडेलले सरकारलाई तत्काल यस्ता अपारदर्शी कदमहरू सच्याउन र संसदीय सर्वोच्चताको सम्मान गर्न आग्रह गर्नुभएको छ।