१४ वैशाख, काठमाडौं । लगानी बोर्ड नेपाल ले लगानी प्रक्रियालाई सरल, छिटो र पारदर्शी बनाउन एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। अब लगानीकर्ताले सिधै अनलाइनमार्फत आफ्नो प्रस्ताव पेस गर्न सक्ने भएका छन्।
बोर्डले सञ्चालनमा ल्याएको पोर्टलमार्फत लगानीकर्ताले कम्पनी दर्ता, कर दर्ता, उद्योग दर्ता, भिसा लगायतका सेवा एउटै प्लेटफर्मबाट लिन सक्ने व्यवस्था गरिएको छ। यसले विभिन्न कार्यालय धाउनुपर्ने झन्झट घटाउने विश्वास गरिएको छ।
यस प्रणालीमा १४ वटा सरकारी निकायलाई क्रमशः डिजिटल रूपमा आवद्ध गरिँदैछ। आन्तरिक राजस्व विभाग, भन्सार विभाग, अध्यागमन विभाग लगायतका निकाय यसमा समेटिने छन्।
बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली ले सूचना प्रविधिको प्रयोगले सेवा प्रवाह अझ प्रभावकारी हुने बताए। उनका अनुसार सबै निकाय पूर्ण रूपमा डिजिटल प्रणालीमा जोडिएपछि सेवा प्रक्रिया अटोमेसनमा जानेछ।
एकल बिन्दु सेवा केन्द्र पूर्ण रूपमा सञ्चालनमा आएपछि लगानी प्रस्तावको मूल्याङ्कन, स्वीकृति, विदेशी विनिमय अनुमति, श्रम स्वीकृति, भिसा तथा अन्य आवश्यक अनुमति एउटै स्थानबाट प्राप्त गर्न सकिनेछ। साथै परियोजनाका लागि जग्गा व्यवस्थापन, वातावरणीय स्वीकृति लगायतका काम पनि यही केन्द्रबाट सहजीकरण गरिनेछ।
सरकारले यो कदमले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्दै लगानी वातावरण थप सहज बनाउने अपेक्षा गरेको छ।





