उर्जा

नेपालमा विद्युत् उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि

१४ वैशाख, काठमाडौं । अर्थ मन्त्रालय ले ऊर्जा क्षेत्रमा भएको प्रगति उत्साहजनक रहेको जनाएको छ। ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ अनुसार पछिल्लो एक दशकमा विद्युत् उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि भएको छ।

प्रतिवेदन अनुसार विद्युत् जडित क्षमता ८२९ मेगावाटबाट बढेर ४,३४० मेगावाट पुगेको छ। त्यस्तै, देशको कुल जनसंख्याको ९९ प्रतिशतमा विद्युत् पहुँच विस्तार भएको मन्त्रालयले जनाएको छ।

यद्यपि, प्रसारणलाइन अभावका कारण विद्युत् आपूर्ति प्रणाली अझै चुनौतीपूर्ण रहेको उल्लेख गरिएको छ। निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित ऊर्जा समयमै उपभोक्तासम्म पुर्‍याउन प्रसारण संरचना विस्तार आवश्यक रहेकोमा जोड दिइएको छ।

मन्त्रालयका अनुसार पछिल्ला वर्षहरूमा नेपाल विद्युत् खुद निर्यात गर्न सक्ने अवस्थामा पुगेको छ। तर सुक्खायाममा माग धान्न अझै आयातमा निर्भर रहनु परेको अवस्था छ।

ऊर्जा सुरक्षालाई बलियो बनाउन जलाशययुक्त आयोजना र सौर्य ऊर्जा उत्पादनमा प्राथमिकता दिनुपर्ने बताइएको छ। साथै जलविद्युत्को ठूलो सम्भावनालाई उपयोग गर्दै औद्योगिकीकरण, सेवा क्षेत्र विस्तार र ऊर्जा निर्यातमार्फत स्थिर वैदेशिक आम्दानी सिर्जना गर्न सकिने अवसर औंल्याइएको छ।

सरकारले आगामी पाँच वर्षभित्र विद्युत् उत्पादन क्षमता १५ हजार मेगावाट पुर्‍याउने लक्ष्य राखेको छ। साथै राष्ट्रिय गौरवका आयोजनाहरू छिट्टै सम्पन्न गर्दै निजी लगानी आकर्षित गरी ऊर्जा क्षेत्रमार्फत आर्थिक वृद्धिमा तीव्रता दिने योजना रहेको मन्त्रालयले जनाएको छ।