सामाजिक सञ्जाल

महासचिव पोखरेलको माग : प्रधानमन्त्री ज्यु: सुकुम्वासीका लागि ‘ज्ञ’ क्रान्तिको खाका चाहियो

१९ बैशाख, काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विस्थापित सुकुम्वासीहरूको समस्या समाधानमा सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै प्रधानमन्त्रीको ‘ज्ञ’ क्रान्तिको अवधारणाको व्यावहारिक कार्यान्वयनको माग गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत एक लामो स्टेटस लेख्दै महासचिव पोखरेलले सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएर हजारौंलाई घरबारविहीन बनाएकोमा तीव्र असन्तुष्टि व्यक्त गरेका हुन्।

महासचिव पोखरेलले २०७५ सालमा बारा–पर्सामा आएको भीषण आँधीले २८ भन्दा बढी नागरिकको ज्यान लिएको र हजारौं घरबारविहीन बनेको घटनाको स्मरण गराउँदै तत्कालीन सरकारले छोटो समयमै आवास निर्माण गरी प्रभावित नागरिकलाई पुनःस्थापित गरेको उदाहरण प्रस्तुत गरेका छन्।

उनले यसलाई राज्यको जिम्मेवारीप्रति देखिएको सकारात्मक उदाहरणका रूपमा व्याख्या गरेका छन्।तर, वर्तमान अवस्था फरक रहेको भन्दै पोखरेलले सरकारले आफैं सुकुम्वासी बस्तीमा डोजर चलाएर हजारौंलाई घरबारविहीन बनाएकोमा चिन्ता व्यक्त गरेका छन्।

उनले बर्खा आउनुअघि पुनःस्थापना नगर्ने हो भने गम्भीर मानवीय संकट निम्तिने निश्चित रहेको चेतावनी दिएका छन्।

अस्थायी सेल्टरहरूको दयनीय अवस्था र त्यहाँ पुग्नेहरूलाई फोटो खिच्न समेत रोक लगाइएको तथ्यले सरकारको संवेदनशीलतामाथि प्रश्न उठाएको उनको भनाइ छ।

प्रधानमन्त्रीले शुक्रबार बुद्ध जयन्तीको शुभकामना दिदै वास्तविक क्रान्ति ज्ञ (ज्ञान)बाट सुरु हुन्छू भनेको भनाइलाई उद्धृत गर्दै महासचिव पोखरेलले आजको यो संकटमा प्रधानमन्त्रीले कस्तो क्रान्तिकारी कदम चाल्दै हुनुहुन्छ भनी प्रश्न गरेका छन्।

उनले प्रभावित तथा असुरक्षित महसुस गरिरहेका सुकुम्वासी नागरिकलाई स्पष्ट योजनाका साथ समयमै आश्वस्त पार्नुपर्नेमा जोड दिएका छन्।