६ जेठ, बाजुरा । बाजुरा र हुम्ला जिल्लाबीच लामो समयदेखि कायम सीमा विवाद समाधानका लागि सरकारले प्राविधिक अध्ययन समिति गठन गरेको छ। आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल को अध्यक्षतामा बसेको बैठकले नापी विभागका उपमहानिर्देशक सुशिल डंगोलको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो।
सरकारले गठन गरेको समितिले विवादित क्षेत्रको प्राविधिक अध्ययन गरी प्रतिवेदन पेस गर्नेछ। समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय तथा कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारका प्रतिनिधिहरू सदस्य रहनेछन्। नापी विभागका निर्देशकलाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ।
बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटा र हुम्लाको खर्पुनाथ गाउँपालिका–२ थाली क्षेत्रबीच पर्ने रानीसैन इलाकाको सीमालाई लिएर लामो समयदेखि विवाद हुँदै आएको छ। केही दिनअघि अस्थायी प्रहरी चौकी निर्माणको विषयमा स्थानीयबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको थियो।
विवादका क्रममा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल सहितको टोली ड्रोन लिएर घटनास्थल पुगेपछि स्थिति थप असामान्य बनेको बताइएको थियो। त्यसक्रममा भएको झडपमा स्थानीयसहित केही व्यक्ति घाइते भएका थिए।
सरकारले घटनापछि सीमा विवादलाई दीर्घकालीन रूपमा समाधान गर्न र वास्तविक अवस्था अध्ययन गर्न समिति गठन गरिएको जनाएको छ।





