बैंकिङ

बीआईआई र लक्ष्मी सनराइज बैंकबीच २.५ करोड डलर कर्जा सम्झौता

१३ जेठ, काठमाडौं । नेपालमा लघु, साना तथा मझौला उद्यम (MSME) को वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यसहित ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट (BII) र लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) बीच २ करोड ५० लाख अमेरिकी डलर बराबरको कर्जा सुविधा सम्झौता भएको छ।

यस सहकार्यअन्तर्गत बैंकले MSME क्षेत्रमा दीर्घकालीन कर्जा प्रवाह विस्तार गर्नेछ भने कुल सुविधाको ३० प्रतिशत हिस्सा महिला नेतृत्वका व्यवसायमा छुट्याइनेछ। यसले विशेषगरी वित्तीय पहुँचबाट वञ्चित उद्यमीलाई सहयोग गर्दै रोजगारी सिर्जना र समावेशी आर्थिक विकासमा योगदान गर्ने अपेक्षा गरिएको छ।

बैंकले महिला सशक्तीकरणसम्बन्धी ‘2X Challenge’ अन्तर्गत मान्यता प्राप्त गरेको छ भने BII ले प्रदान गरेको प्राविधिक सहयोग कार्यक्रमले महिला उद्यमी लक्षित सेवा विस्तारमा सहयोग पुर्‍याएको छ। साथै, बैंकले वातावरणीय तथा सामाजिक व्यवस्थापन प्रणाली (ESMS) सुदृढ गर्ने प्रतिबद्धता पनि जनाएको छ।

बेलायत सरकारले विकास वित्त संस्थामार्फत नेपालमा समावेशी र दिगो आर्थिक विकासलाई प्रवर्द्धन गर्न यो सहकार्य महत्वपूर्ण हुने बताएको छ।